माटो परीक्षण कार्यक्रम–२०८३
मिति: २०८३/०२/१३
हाम्रो विद्यालयमा २०८३ जेठ १३ गते “माटो परीक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरियो। यस कार्यक्रममा विद्यार्थीहरूले कृषि उत्पादनमा माटोको महत्त्व बुझ्ने अवसर प्राप्त गरे। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले विभिन्न स्थानबाट माटोका नमूना संकलन गरी माटोको pH, नाइट्रोजन (N), फस्फोरस (P) तथा पोटास (K) परीक्षण गरे।
कार्यक्रमको मुख्य उद्देश्य माटोको उर्वराशक्ति, पोषक तत्वहरूको अवस्था तथा सन्तुलित मल व्यवस्थापनबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्नु थियो। परीक्षणको क्रममा विद्यार्थीहरूले माटो परीक्षण किट प्रयोग गरेर विभिन्न प्रयोगात्मक कार्यहरू गरे।नतिजा प्राप्त भएपछि विद्यार्थीहरू निकै उत्साहित देखिन्थे र आफ्नै गाउँ तथा खेतबारीको माटोको अवस्था बुझ्न पाउँदा खुसी व्यक्त गरे।
माटोको नमूना संकलन गर्ने विधि
माटो परीक्षणको पहिलो चरण नमूना संकलन हो। सही नमूना भएमा मात्र परीक्षणको नतिजा विश्वसनीय हुन्छ।
pH परीक्षण विधि
माटो अम्लीय, तटस्थ वा क्षारीय छ भन्ने जानकारी pH परीक्षणबाट प्राप्त हुन्छ।
विधि:
1. सफा टेस्ट ट्युबमा ५ मि.लि. डिस्टिल्ड पानी राखियो।
2. करिब २ ग्राम माटो थपियो।
3. क्याल्सियम सल्फेट मिसाइयो।
4. राम्रोसँग हल्लाएर २० मिनेटसम्म राखियो।
5. pH इन्डिकेटर प्रयोग गरी रंग विकास गराइयो।
6. प्राप्त रंगलाई pH चार्टसँग तुलना गरेर pH निर्धारण गरियो।
नाइट्रोजन (N) परीक्षण विधि
नाइट्रोजन बोटबिरुवाको हरियो वृद्धि र विकासका लागि अत्यन्त आवश्यक तत्व हो।
विधि:
1. माटोबाट एलिक्वेट (फिल्टर गरिएको घोल) तयार गरियो।
2. चाइना प्लेटमा नाइट्रोजन रिएजेन्टका चार थोपा राखियो।
3. त्यसमा एक थोपा एलिक्वेट थपियो।
4. विकसित रंगलाई नाइट्रोजन रंग चार्टसँग तुलना गरी नतिजा निर्धारण गरियो।
फस्फोरस (P) परीक्षण विधि
फस्फोरसले जराको विकास, बीउ उत्पादन तथा बाली छिटो पाक्न सहयोग गर्छ।
विधि:
1. टेस्ट ट्युबमा २ मि.लि. एलिक्वेट राखियो।
2. फस्फोरस रिएजेन्ट थपियो।
3. टिन मेटलका दुई टुक्रा राखियो।
4. राम्रोसँग हल्लाइयो।
5. विकसित रंगलाई फस्फोरस रंग चार्टसँग तुलना गरी नतिजा प्राप्त गरियो।
पोटास (K) परीक्षण विधि
पोटासले बोटको डाँठ र जरालाई बलियो बनाउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ।
विधि:
1. टेस्ट ट्युबमा २ मि.लि. एलिक्वेट राखियो।
2. पोटास रिएजेन्ट नं. २ का ६ थोपा थपियो।
3. पोटास रिएजेन्ट नं. १ विस्तारै मिसाइयो।
4. हल्का हल्लाएर एक मिनेट पर्खियो।
5. बनेको धुम्म (Turbidity) लाई पोटास रंग चार्टसँग तुलना गरी नतिजा निर्धारण गरियो।
सिकाइ र उपलब्धि
यस कार्यक्रममार्फत विद्यार्थीहरूले माटो परीक्षणको सम्पूर्ण प्रक्रिया व्यावहारिक रूपमा सिक्ने अवसर पाए। माटोको pH तथा NPK तत्वहरूको अवस्था थाहा पाएपछि कुन प्रकारको मल र कति मात्रामा प्रयोग गर्नुपर्छ भन्ने ज्ञान प्राप्त भयो। प्रयोगात्मक सिकाइले विद्यार्थीहरूको कृषि विज्ञानप्रतिको रुचि अझ बढाएको छ।
विद्यालय परिवार कृषि सम्बन्धी यस्ता व्यवहारिक तथा वैज्ञानिक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
नोट: माटो परीक्षण कार्यक्रमका तस्बिरहरू अवलोकन गर्न यहाँ क्लिक गर्नुहोस्।
